इतिहासकै घटनाहरूमध्ये एक मानिएको राजदरबार हत्याकाण्डलाई दरबारकै सदस्यले ‘रहस्यमय’ भएको दाबी गरेकी छन् ।
नब्बेवर्षे जीवनमै पहिलोपटक गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा तत्कालीन राजा त्रिभुवनकी भित्रिनी सरला शाहले १९ जेठ २०५८ को घटनालाई रहस्यमय भन्नुभयो । दरबार हत्याकाण्डका रूपमा चिनिएको सो घटनामा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएको थियो । सो घटनामा वीरेन्द्र शाहका अतिरिक्त ऐश्वर्य शाह, दीपेन्द्र शाह, नीराजन शाह, श्रुति शाह, शान्ति शाह, शारदा शाह, जयन्ती शाह, खड्गविक्रम शाहको मृत्यु भएको थियो ।
उपचारका क्रममा ब्लुक्रस नर्सिङ होममा भर्ना हुनुभएकी शाहले पत्रकारको नाम, ठेगाना, पत्रकारिताको अनुभव सोधेपछि जवाफ दिन थाल्नुभएको थियो ।
स्मरणीय छ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटी दरबार सङ्ग्रहालय प्रदर्शनीको फागुन १५ गते उद्घाटन गर्दै दरबार हत्याकाण्डको पुनः छानबिन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
तत्कालीन राजा वीरेन्द्रले आयोजना गरेको नियमित भोजमा उपस्थित सरला शाहलाई दरबार हत्याकाण्ड छानबिन गर्न गठित समितिले समेत सोधपुछ गरेको थिएन । समितिले हत्याकाण्डको दोषी भने तत्कालीन युवराज दीपेन्द्रलाई ठहर्याएको थियो ।
दरबार हत्याकाण्ड कसले गर्यो भन्ने गोरखापत्रको प्रश्नमा सरलाले भन्नुभयो- ‘यो रहस्यमय छ ।’
युवराज दीपेन्द्रले गोली चलाएका हुन् भनिएको छ नि भन्ने अर्को प्रश्नमा सरला शाहले भन्नुभयो- “कस्ले गर्यो, कस्ले गर्यो ? अझै पनि रहस्यमय छ ।”
घटनाका बेला पूर्वराजा ज्ञानेन्द्रकी मुमा रत्नसँगै आफू रहेको र घटनाको प्रत्यक्षदर्शी भएको जानकारीसमेत उहाँले दिनुभयो । उहाँले दीपेन्द्रले गोली चलाएको भनाइको खण्डनसमेत गर्नुभयो- “यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन, गोली कसले चलायो रहस्य छ ।’
राणाशासन अन्त्य गर्न र प्रजातन्त्र स्थापना गर्न योगदान दिएका राजा त्रिभुवनकी भित्रिया भए पनि सरला शाहले कहिल्यै पनि ‘श्री ५’ को पदवी भने पाउनुभएन ।
अन्तर्वार्ताका क्रममा सरला शाहलाई सोधियो- तपाईंले कहिल्यै ‘श्री ५’ को पदवी माग्नुभएन ?
प्रत्युत्तरमा उहाँले जवाफ दिनुभयो- श्री ५ को इच्छा त कसलाई हुँदैन तर भाग्यले दिएन । त्रिभुवनको पदवी दिने इच्छा थियो तर मलाई पदवी दिनुअघि नै उहाँको मृत्यु भयो ।
पूर्वराजा ज्ञानेन्द्र दरबारबाट बहिर्गमन हुँदासम्म थोरै मानिसको मात्रै जानकारीमा रहनुभएकी सरला शाह तत्कालीन राजा त्रिभुवनकी भित्रिया भएको समाचार पहिलोपटक गोरखापत्र दैनिकबाटै सार्वजनिक भएको थियो ।
नेपालमा २३८ वषर्ीय राजतन्त्रको अन्त्य भएको विषयमा सरला शाहलाई सोधिएको प्रश्नमा उहाँको जवाफ थियो- “म त केही बोल्दिनँ ।”
“यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन”
अहिले अस्पतालमा भर्ना हुनुहुँदो रहेछ, खर्च तपाइँलाई कहाँबाट आउँछ ?
मेरो खर्च रत्नबाटै आउँछ ।
तपाइँ दुवैजना सँगै बस्नुहुन्छ ?
उहाँ -रत्न) नारायणहिटी थान -नारायणहिटी सङ्ग्रहालय) भित्रतिर बस्नुहुन्छ, म बाहिर ।
राजा त्रिभुवनको सम्झना लायकको केही कुरा छ ?
मलाई केही सम्झना छैन ।
भनेपछि सबै बिर्सनुभयो ?
सबै बिर्सिसकेँ, उहाँ स्वर्गे भएको पनि यतिका वर्ष भइसक्यो ।
दरबारले तपाइँलाई श्री ५ को पदवी किन नदिएको होला ?
अब किन नदिएको यो उनीहरूलाई नै सोध्नुपर्ने, मसँग के ? मलाई पदवी देउ, यो देउ, उ देउ भन्ने हुँदैन, उहाँ -त्रिभुवन)को विचार दिने थियो ।
त्रिभुवनपछि महेन्द्र, वीरेन्द्रले दिँदा पनि हुन्थ्यो नि ?
त्यो कुरा मलाई नसोध्नुस्, थाहा पनि छैन, जानकारी पनि छैन ।
तपाइँलाई त्यो पाउने इच्छा पनि भएन ?
इच्छा त कसलाई हुँदैन ? हुने खाने इच्छा हुँदैन ? गर्ने मान्छे थिएन भने के गर्ने ?
दरबारमा तपाइँको खानपानको व्यवस्था कसले गर्छ ?
रत्नबाट ।
ए रत्नबाट ?
अँ, त्यहीँबाट ।
ज्ञानेन्द्र राजाबाट हट्नुअघि दरबारबाट आउँथ्यो । अहिले रत्नबाट आउँछ ?
अहिले पनि दरबारबाटै आउँछ होला, मलाई चासो पनि भएन, मलाई थाहा पनि छैन, त्यहीँ बसिराखेको छु ।
अनि तपाइँलाई राजतन्त्र समाप्त भएकोमा केही खल्लो अनुभव भा छैन ?
मलाई यादै हुँदैन त्यस्ता कुरा ।
तपाइँको अनुभव ?
अनुभवै छैन । अब भाग्यमा नभएको, म दुखीले के गर्ने, उहाँ बसेको भए त बसिन्थ्यो होला, उहाँले छोडेपछि । त्यो कुरा सबै बिर्सियो ।
सबै कुरा बिर्सिनुभयो ?
अब बिर्सिनै पर्यो नि, घरमा लोग्ने स्वास्नी त छुटिनुपर्छ अब उहाँ
-त्रिभुवन) नभएपछि के गर्ने ?
त्रिभुवन नभए पनि दरबार त थियो नि ?
के भनेको ?
त्रिभुवन नभए पनि महेन्द्र, वीरेन्द्र हुनुहुन्थ्यो नि, उहाँहरूबाट पनि दरबारमा तपाइँले इज्जत पाउनुभएन ?
पाएन, भाग्यले दिएन ।
मलाई सम्मान चाहिन्छ ‘श्री ५’को पदवी चाहिन्छ भनेर कहिल्यै माग्नुभएन ?
भनेको छैन मैले, मलाई यो राखिदेउ, यो गरिदेउ भनेको छैन ।
हजुरको दरबारबाहिर आफन्त कोही छैन ?
आफन्त सबै छन् ।
९० वर्षको उमेर खानपान के गर्नुहुन्छ ?
सादा खाना खान्छु, पकाउने, खुवाउने उनीहरूले नै गर्छन्, म त घरमै हुन्छु ।
रत्नसँग भेट हुन्छ ?
हुन्छ, बीचबीचमा भेट हुन्छ ।
ज्ञानेन्द्रले गद्दी छोडेर गएको विषयमा कुरा हुन्छ ?
त्यो मलाई थाहा हुँदैन ।
राजदरबार काण्डमा वीरेन्द्रको बंश विनास भयो । तपाइँ पनि त्रिभुवन सदनमा हुनुहुन्थ्यो होइन ?
कसले भन्यो ?
प्रतिवेदनमा छ नि Û त्यसमा तपाइँ प्रत्यक्षदर्शी हुनुहुन्थ्यो ?
घटना देखेको हो । यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन । गोली कसले चलायो रहस्य छ ।
त्यो घटना कसले गरेको रै छ त ?
रहस्य छ ।
यो मान्छेले गर्यो भन्ने कहीँ खुल्छ ?
छैन, छैन ।
दीपेन्द्रले गरेको हो भनेर प्रतिवेदन आयो नि ?
कस्ले गर्यो, कस्ले गर्यो ? अझै पनि रहस्यमय छ ।
यो घटनाले रत्नलाई पनि चिन्तित बनाइराख्छ होला नि ?
खै थाहा छैन, अब कहिले काहीँ भेट्न जान्छु, भेटे पनि उहाँले मसँग आएर केही भन्नुहुन्न ।
त्यो विषयमा कुरा हुँदैन ?
न मलाई थाहा छ, न उहाँलाई ।
अहिले त नारायणहिटी सङ्ग्रहालय बन्यो, तपाइँ बसेको ठाउँ छोड भनेर सरकारले भन्यो भने के गर्नुहुन्छ ?
खै थाहा छैन, सरकारले के गर्छ ।
तपाइँलाई कहाँ जाने व्यवस्था गर्दा राम्रो हुन्थ्यो ?
सरकारले जहाँ जान भन्छ, त्यहाँ जाने, फलानो ठाउँमा जाउ भन्यो भने त्यहीँ जाने ।
तपाइँ सन्यास बस्ने, काँसी बास बस्ने, धर्मकर्म गर्ने इच्छा छैन ?
काँसी जान मन लागेको छ, कसले पठाउँछ ?
काँसीमा त रणबहादुर शाहले ठूलो आश्रम बनाएका छन् नि परिवारका लागि ।
मैले त के भन्ने, मलाई थाहा पनि छैन ।
सरकारले खर्च गर्यो भने इच्छा छ ?
सरकारले काँसी जा भन्यो भने त जान्छु नि, यो उमेरमा काँसीमा गएर पनि के गर्ने, घर चाहियो, सबै चाहियो ।
सबै व्यवस्था भयो भने ?
भयो भने त भाग्यको कुरा काँसीमा गए पनि बम्बइमा गए पनि जहाँ गए पनि ।
विवाहअघि माइती मानन्धर की गोर्खाली ?
म श्रेष्ठ
त्रिभुवनले तपाइँलोई कहाँ मन पराएको ?
दरबारमा भेट भयो ।
दरबारमा, तपाइँ त्यहीँ सेवा गर्नुहुन्थ्यो ?
अँ । त्यहीँ दरबारमा हो । म त दरबारमा काम गर्थें । त्रिभुवनले त्यहीँ मन पराए, अब भयो । बाबु जानुस् ।
Source :- Gorkha Patra
No comments:
Post a Comment